
प्रमोद खरेलको जन्म २०३७ कात्तिक २० गत बुधवारका दिन बलभद्र खरेल र विप्पु शर्मा खरेलका पुत्ररत्नका रुपमा सोनितपुर बस्त ीआसा मभारतमा भएको हो। हाल उनको स्थायी बसोबास बनियानी झापामा रहँदै आएको भने हाल उनी ललितपुरको सातदोबाटोमा बस्छन्। शिक्षासेवी माता पिताका घरमा दुई छोरा एक छोरी मध्ये जेठा सन्तानका रुपमा जन्मिएका प्रमोद खरेलले विद्यालय स्तरीय पढाइ झापाको हिमाली उच्च मावि पृथ्वीनगरबाट पूरा गरेको देखिन्छ। उनले त्रिभुवन विश्वविद्यालयबाट अर्ग्यानिक केमिष्ट्रिमा एम.एस.सी गरेका छन् भने शास्त्रिय संगीत तर्फ सिनियर डिप्लोमा पुरा गरेका छन्। पेशाले प्राध्यापन र प्रतिभा र रुचीले गायन तथा संगीत दुवै क्षेत्रमा संलग्न खरेल विज्ञान र कलालाई संयोजन गर्ने कुशल शिल्पी रहेको देखिन्छ।
खरेलको गायन यात्रा निर्दोषी मायालुलाई सम्भि्क बसें (२०५६)बाट आरम्भ भएको देखिन्छ। आफ्नै शब्द रहेको उनको गीत पविधन खालिङ्गको संगीतमा रेकर्ड भएको हो। खरेलका हालसम्म पाँचसय भन्दा बढी गीत रेकर्ड भईसकेका छन् जसमा चारवटा एल्वम,७०–८० जति चलचित्रका गीत र अन्य फुटकर गीतहरु रहेका छन्। प्राप्ति(२०६१),सेन्टिमेन्ट्स(२०६४),प्रणय(२०६७) र प्रवेग(२०६८) उनका एकल एल्वमहरु ह्ुन्।उनले दुई वटा चलचित्रहरु मिस्टर मङ्गले र मेरो लभ स्टोरीमा प्रयुक्त गीतमा संगीत गरेका छन् तापनि उनको सर्वाधिक संलग्नता र सफलता गायन विधामा नै रहेको देखिन्छ।
आधुनिक गीतमा विशेष दख्खल भएका युवा पुस्ताका संगीतकारहरु प्रबीण बराइली,गुरुदेव कामत र राम सिटौलालाई आफ्ना सांगीतिक गुरु मान्ने प्रमोद खरेल तिनै गुरुहरुको सान्निध्यमा रहेर आफ्नो कला तिखारेको स्विकार्छन्।

खरेलको गायनको मौलिकता उनको गजल विधाबाट पनि प्रस्तुत भएको देखिन्छ। उनको 'म बिना कसै कसैलाई'गजलले कालिका अवार्ड अन्तर्गतको वेष्ट गजल पुरस्कार (२०६७) तथा अन्नपूर्ण अवार्डमा वेष्ट गजल पुरस्कार (२०६८) प्राप्त गरेको छ। यही गजलका कारण उनको एल्वम प्रणय अन्नपूर्ण अवार्ड (२०६८)मा वेष्ट एल्वम बन्न सफल भएको थियो।
आधुनिक शैलीका गीत गाएर प्रमोद खरेल युवा पुस्तामा एउटा सशक्त छाप छाड्न सफल भएका छन्। प्रेम,रहस्य र प्रतीक्षाको सारभावलाई उनको गायकीले सजीव बनाएको भाव हुन्छ। भाव अनुकुलको शैलीगत आरोह अवरोह र लचकताले उनको आवाजलाई कर्णप्रिय बनाएको पाइन्छ। युवापुस्तामा उनी संख्यात्मक र गुणात्मक दुवै हिसाबले गायन गन्तब्यको शिखर तिर निकै नजिकिई सकेका छन्। उनको मधुर आवाजका पारखीहरु म्ाझ स्वदेश र विदेशका धेरै मञ्चहरु उनलाई प्राप्त भईसकेको छ। मलेसिया,कतार,संयुक्त अरब इमिरेट्स्,इजरायल,भारत लगायताका देशमा सांगीतिक यात्रा सम्पन्न गरेर लोकप्रियता कमाएका खरेलले देश भित्र पनि थुप्रै ठाउँमा आफ्ना प्रस्तुति दिईसकेका छन्।




























