ग्ल्यामर फिल्ड त्यसै पनि रंगीन,अझ त्यस माथी सेलिब्रिटीहरुको लोभ लाग्दो जीवन शैली देखेर उनीहरु जस्तै नाम,दाम र शानको जीवन शैली अपनाउन नचाहने को पो होलान र ? त्यसैको सपना बुन्दै र सिको गर्दै ग्ल्यामर फिल्ड अर्थात गीत संगीत र सिनेमा लगायतका क्षेत्रमा लागिरहेका र लाग्न चाहनेहरुको कहिल्यै कमी भएन । न त भोली नै होला ।
त्यसरी सतही रुपमा हाम्फालेर जानेहरुको सफलताको कथा भने कमै मात्र सुन्न पाईन्छ । तर त्यो भीड्मा त्यस्ता कला पारखीहरु पनि हुन्छन्,जो वास्तवमै कलालाई पूजा गर्छन । कलालाई क्षणिक चर्चा पाउने माध्यम होइन आफ्नो प्रतिभा र लगनशीलता दर्शाउने क्षेत्रको रुपमा लिन्छ्न । र, यथार्थमा उनीहरू नै श्रोता र दर्शकको मनमा राज गर्न सफल हुन्छन् ।
यी कुराहरु नवोदित गायिका सीमा संग्रौलामा कुन हदसम्म लागू होला,अहिले नै भन्न नसकिए पनि उनका अनुसार यति चाहि सही हो की गीत संगीत उनको लागि जीवनकै एउटा पाटो हो । र, यही नै गंतव्यमा पुग्न उनले रोजेको बाटो हो।
नेपाली गीत संगीतलाई पूजा गर्ने परिवारकी सदस्यको रुपमा जन्मेकी सीमा संग्रौला सानै देखी नेपाली गीत संगीत प्रति आकर्षित भइन । त्यो आकर्षण उनले आफ़ू हुर्केर जवान भईन्जेल सम्म पनि घट्न दिईनन। अहिले पनि उनी हिड्दा,बस्दा,पढ्दा वा किचेनमा केही पकाईरहंदा समेत नेपाली गीत नै गुनगुनाई रहेकी हुन्छिन ।
धरानमा जन्मेर उतै हुर्की पढेकी उनी धरानमै हुने विभिन्न सांगीतिक कंसर्टहरुमा उत्साहका साथ भाग लिन्थिन र सबैको वाह वाही पाएर दंग पर्थिन। अभय सुब्बा,सिने गुरुंग लगायतका गीतहरुमा उनीहरूले प्रस्तुत गरेको गायकीवाट लोभिदै उनी पनि आफ्नो सांगीतिक गंतव्यको खोजीमा काठमांडू आईन,२०६६ मा ।
संजोकले उनको भेट गीतकार तथा संगीतकार कालिप्रसाद बांसकोटासंग भयो । सीमाले उनीसंग आफ्नो योजना र सपनाका वारेमा खुलस्त कुरा राखिन । त्यस पछि सुरु भयो उनको सांगीतिक ड्रीम प्रोजेक्ट । र, करीव एक वर्ष पछि उनले आफ्नो उक्त प्रोजेक्ट पूरा गराएरै छोडिन । जुन भर्खरै मात्र उनले नोटको रुपमा दर्शक / श्रोता माझ प्रस्तुत गरेकी छिन ।
नोटको सार्वजनीकरण संगै नेपाली सांगीतिक बजारमा विस्तारै सीमाको पनि चर्चा बढ्दै छ । त्यों संगै उनको आत्म विश्वास पनि बढेको छ । सबैले उनको स्वर छुट्टै र दमदार रहेको कम्प्लिमेंट्स दिन थाले पछि धरानकी यी गायिकाले अझै यस क्षेत्रमा निरंतर रुपमा समर्पित रहने प्रण गरेकी छिन । संगीतको औपचारिक ज्ञान र शिक्षा विना यस क्षेत्रमा आफ्नो भविष्य नदेखेकी उनले डोरेमी संगीत पाठशालावाट यसको ज्ञान लिन पनि सुरु गरिसकेकी छिन। त्यसैले भविष्यमा पनि उनीवाट नेपाली सांगीतिक क्षेत्रले केही आशा गर्न सकिन्छ ।
हुन त सीमा संग्रौला,नेपाली सांगीतिक क्षेत्रका लागि नयाँ नाम हो । संगीत क्षेत्र उनको लागि पनि नयाँ हो । तर अहिले सम्मको उनको अनुभवबाट यो क्षेत्र उनी जस्तै महिलाहरुका लागि भने अलि चुनौती पूर्ण रहेछ । 'रात बिरात ,टाढा नजिक केही भन्न नपाईने रहेछ। त्यस माथि परंपरागत सामजिक दृष्टिकोण , तर यसका बावजूद पनि म आफ्नो लक्ष्यमा सफल भएरै छोड़ने छु.’ उनले आफ्नो आत्म विश्वास व्यक्त गरिन ।
सीमाको पहिलो एकल एल्बम नोट सबै खालका गीतहरुको मिश्रित एल्बम हो । उनले आफ्नो गायन प्रतिभा देखाउन भन्दा पनि सबै खालका गीत सुन्न मन पराउने श्रोताहरुलाई ध्यानमा राखी त्यसो गरेकी हुन रे ।
तर उनलाई मन परेको जेनर चाहि सफ्ट पप हो ।
आफूमा अझै पनि नर्भसनेस फिल हुने र आत्म विस्वसको केही कमी रहेको उनी स्वीकार्छिन । त्यसदेखी वाहेक छिट्टै अरुलाई विश्वास गर्नु उनलाई आफ्नो कमजोरी हो जस्तो लाग्छ ।
गायनको अतिरिक्त अध्ययन र मीठा मीठा खानेकुराहरु पकाउनुमा मज्जा मान्ने उनलाई पानी देखि भने निक्कै डर लाग्छ रे ।
आफूलाई अझै ठुली भैनसकेकी ठान्ने सीमा माया प्रेमका कुरा भने गोप्य नै रख्न चाहन्छिन। भन्छिन,'कतिपय कुरा गोप्य नै रहेको राम्रो '।
जीवनलाई अमूल्य ठान्ने उनी यसलाई सोही अनुसार नै जिउनुपर्ने मान्यता राख्छिन । त्यसैले होला उनकै एल्बमको एउटा गीतमा उनले जिन्दगीप्रतिको आफ्नो हेराई यसरी अभिव्यक्त गरेकी छिन-
के नै रुनु छ र सम्झेर छोड़ी जानेलाई
के नै भन्नु छ र नाता नै तोड़ी जानेलाई
जिउनु आफ्नै खुशीले यहाँ रम्नु आफ्नै चाह
भोली अँध्यारो साथी, कसलाई छ थाहा ?
2011-07-06 13:47:02