
म्हेपी काठमाडौका दिपक घिमिरे ११ वर्षदेखि अमेरिकाको टेक्सासमा छन्। सानोमा नारायण गोपाल,प्रेमध्वज प्रधान,भक्तराज आचार्य र शान्ति ठटालका गीत गुनगुनाउने दिपक केहि दिन पछि भने आफ्ना गीत अरुलाई गुनगुनाउन लगाउने अभिप्राय सहित नेपाली संगीतको बगैंचामा एल्वम 'पोइज' लिएर प्रवेश गर्दैछन्। डोरेमी संगीत पाठशालामा एल्वमको अन्तिम तयारीमा जुटेका दिपकसँग सेलरोटीले केही जिज्ञाषाहरु राखेको थियो।
अमेरिका कसरी पुग्नु भयो?
काठमाडौबाट प्लस टू सिध्याएपछि अमेरिकाका पढ्नका लागि कोशिस गरेको थिएँ,सफल भएपछि ११ वर्ष देखि उतै छु।
कति पढ्नु भयो ?
मैंले त्यहाँबाट कम्प्युटर साइन्समा ग्राजुएसन गरि सिध्याएँ। अहिले भने ब्रिटिस पेटोलियममा काम गर्छु।
संगीतको संगत चाहिं कत्तिको पूरानो हो?
श्रोताको हिसाबले त पूरानै हो। काठमाडौमा हुँदा देखिनै गीत सुन्थें र एकान्तमा गुनगुनाउँथें पनि। तर व्यवसायिक हिसाब संलग्न हुँला भन्ने चाहिं सोचेको थिईंन। अहिले यसो बिचार गर्दा त अचानक नै गाउन आएछु जस्तो लाग्छ।
एल्वम निकाल्ने सोच चाहिं कसरी आयो?
ज्ाब तपाईं आफ्नो ठाउँ,आफ्नो गाउँ्क र आफ्ना मान्छे देखि टाढा हुनुहुन्छ त्यतिबेला तपाईं गीत संगीतको माध्यमबाट ती आफ्ना चीजहरुलाई सम्झनु हुन्छ। कलिलो उमेरमै परदेशी भएपछि मेरा लागि पनि देशसँगको सामीप्यताका सेतु संगीत नै रह्यो। कहिले नारायण गोपाल सुनेर आफूलाई सम्झाएँ त कहिले शान्ति ठटाललाई। गीत सुन्ने अभ्यासले गायनका लागि हुटहुटी लगायो।
तर शुरुवातको विन्दु चाहिं कुन रह्यो?
गीत सुन्ने आफ्नै लागि मात्र गुनगुनाउने मेरो बानी नियमित नै थियो। एक दिन चैं लाग्यो कति एक्लै गुनगुनाउनु। मलाई न्ह्यू बज्राचार्यको संगीतको पनि लत थियो। उहाँको इमेल पनि थियो। अनि उहाँलाई आफ्नो ईच्छा जाहेर गरेर एउटा इमेल लेखें। यति गर्दासम्म मलाई उहाँले रिप्लाई गर्नुहोला भन्ने पटक्कै लागेको थिएन तर दुई दिन नबित्दै उहाँले रिप्लाई गर्नु भयो।
अनि?
रिप्लाईमा उहाँले तिम्रो स्वर कस्तो छ? यदि राम्रो छ भने काम गर्न सकिन्छ भन्ने आशय व्यक्त गर्नु भएको थियो। मलाई उहाँको यो जेस्टर पोजेटिभ लाग्यो र मैंले आफ्नै कम्प्युटरमा रेकर्ड गरेर उहाँलाई पठाईदिएँ। उहाँको रेस्पोन्स नआउन्जेल मलाई के भन्नु हुने हो भन्ने लागिरहेको थियो तर उहाँले मेरो स्वरलाई साँच्चै राम्रो छ भनेर एपरिसियट गर्नु भयो। यसपछि अहिलेको अवस्था सम्म आइपुगियो।
गीत रेकर्डिङ्गको काम कहिलेबाट थाल्नु भयो?
म अघिल्ल्ाो साल छोटो विदामा आएको थिएँ त्यही बेला रेकर्डिङ्ग गरेर फर्किएको हुँ। त्यतिबेला जम्मा दशवटा गीत रेकर्ड गरेर फर्किएको थिएँ।
छोटो समयमा कसरी यति धेरै गीत रेकर्ड गर्न भ्याउनु भयो?
अमेरिकामा रहँदै न्ह्यू दाइले गीतको डमी पठाईदिनु भएको थियो। फुर्सदमा अभ्यास गरेको थिएँ। खै कसरी हो दुई हप्तामै सबै गीत रेकर्ड गरीवरि सिध्याएको थिएँ। त्यति धेरै टेक पनि लिएको हैन।
एल्वममा जम्मा कति वटा गीत राख्दै हुनुहुन्छ?
ह्ुनत अघिल्ल्ाो साल र यो साल गरि मसँग १७ वटा रेकर्डेड गीत छन्। तर एल्वममा भने नौ वटा गीत राख्ने योजना छ।
एल्वममा कस्ता कस्ता गीत राख्नुभएको छ?
सबै खाले गीतहरु राख्ने कोशिस गरेका छौं। न्ह्यू दाइको संगीतमा हामी आधुनिक र पपको जुन फ्युजन भेटछौं त्यही नै यो एल्वमको विशेषता हो। विधाका हिसाबले भने यसमा रक,ब्लुज र सेन्टिमेन्टल पप गीतको बाहुल्यता छ। एल्वम आउँदो यही डिसेम्बर महिनाको २७ मा एक औपचारिक कार्यक्रम सहित सार्वजनिक हुँदैछ।
नेपाली संगीतमा डेब्यु गर्दै हुनुहुन्छ,नेपाली संगीत बजारको बारेमा चाहिं कत्तिको जानकारी राख्नु भएको छ?
यदि तपाईंले बजारको कुरा गरेर एल्वम बिक्रिको कुरा गर्न खोज्नु भएको हो भने म यस्तो अवस्था प्रति जानकार छु। नेपालमा मात्रै होइन संसार भरिनै एल्वमको बिक्रि छैन। गायक गायिकाको आधार संसार भरिनै आजभोलि कन्सर्ट हो। म पनि बजारको लोभले भन्दा पनि आफू भित्रको गाउने ईच्छाको गायनमा आएको हुँ। मलाई बजारको भन्दा श्रोताको स्वीकृतिको चाह छ।
































