
शान्त तलाऊमा फालेको ढुङ्गाले ल्याएको तरङ्गझैं आएकी छिन् मिलन अमात्य। गत महिनाको २६ गतेका दिन इन्द्रेणी कम्प्लेक्समा आफ्नो एकल एल्वम मिलन सार्वाजनिक गरेसँगै उनको आवाजले यो तरङ्ग ल्याएको हो। शास्त्रीय गायनको जगमा उठेको मिलनको यो आवाज जस जसको कानमा पर्यो सबैको मुटुमा बस्यो। योसँगै मिलन अमात्यलाई नेपाली संगीतमा महिला गायनको सशक्त प्रतिभाको रुपमा हेरिएको छ। चार वर्षको उमेरदेखि संगीतको संगतमा रहेकी मिलन भारतको आसाममा जन्मिएकी हुन्। आसाममा चर्चित गायिकाको रुपमा स्थापित भईसकेकी गायिका मिलन अबको समय भने नेपाली संगीतका लागि खर्चिन चाहन्छिन्। सानो उमेरमै ३०० भन्दा बढी गीत गाएकी मिलनले सेलरोटीसँग आफ्नो संगीत यात्राका बारेमा लामो कुराकानी गरिन्।
तपाईं आसामकी हिट गायिका,नेपालमा संघर्ष गर्न किन आउनु भयो?
मेरो जन्म आसाममा भएपनि हाम्रो परिवार मूलतः नेपाली नै हो। हामी आसाममा रहँदा हाम्रो परम्परा रीति रिवाज,धर्म,संस्कृति र रहन सहन सबै नेपाली नै थियो। र अर्को कुरा मानवीय स्वभाव के हुन्छ भने आफ्नो देशको घर जतिसुकै जीर्ण होस् जति सुकै नराम्रो होस् र विदेश घर सुविधा सम्पन्न होस् तर पनि हामीलाई आफ्नै जीर्ण घर मन पर्छ। त्यसैगरि आसाममा रहेर म त्यहाँको स्थापित गायिका भएपनि मलाई पिता पुर्खाको थलोमा आफूलाई चिनाउन मन लाग्यो। त्यही भएर नेपालमा आएर एल्वम निकालें र भविष्यमा पनि यही क्षेत्रमा लाग्ने दृढ निश्चय छ।
तपाईंको आवाजलाई सबै मान्छेले एकै सुनाईमा नोटिस गरेका छन्, यसको कारण के हो जस्तो लाग्छ?
हो। मलाई पनि मेरो आवाज सुन्ने धेरैले तिम्रो आवाज राम्रो छ भनेर प्रतिक्रिया दिनु भएको छ। यसले मलाई हौसला मिलेको छ। जहाँ सम्म कारणको कुरा गर्दा मलाई लाग्छ पहिलो कुरा आवाज भन्ने कुरा गड गिफ्ट नै हुन्छ। त्यसलाई चम्काउने अथवा साँध लगाउने कुरा चाहिं साधकको अभ्यासमा भर पर्छ। म ४ वर्षको उमेरदेखिनै संगीतको संगतमा थिएँ। मेरी आमा अम्बिका नेवार लोक गीत गाउनु हुन्थ्यो र मेरो बुबा गणेश नेवार पनि आर्मीमा सांगीतिक बाजा बजाउनु हुन्थ्यो। त्यो बाहेक मेरी ठूली आमा हुनुहुन्थ्यो डुकुना नेवार उहाँ आसामकी प्रख्यात लोक गायिका। उहाँहरु सबैजनाको संसर्गले मैंले सानै उमेरदेखि अभ्यास गरें। संगीतमा निरन्तरता पनि रह्यो सायद यही कारणले होला मेरो स्वर धेरैले मन पराउनु भएको।
औपचारिक रुपमा चैं संगीत पढ्नु भयो की भएन?
पढें। मैंले गुरु श्री सुवासदासबाट शास्त्रिय संगीतमा विशारदसम्मको ज्ञान लिएकी छु।
सानो उमेरमै तपाईंले ३००सय भन्दा बढी गीत गाइ सकें भन्नु हुन्छ , कसरी सम्भव भयो यो?
मैंले २००३ को अक्टोबरमा अल इन्डिया म्युजिकल कम्पिटिशनमा फस्ट रनर्सको उपाधि प्राप्त गरेकी थिएँ। आसामी र राजस्थानी लोकसंगीतमा आधारित उक्त प्रतियोगितामा बलिउडका प्रसिद्ध संगीतकार स्व. नौसाद अली र प्रसिद्ध गजल गायक पिनाज मसानी निर्णायक हुनुहुन्थ्यो। यस्तो ठूलो प्रतियोगितामा उपाधि जितेपछि म आफूमा त आत्मविश्वास आयो नै सँगसँगै आसामका संगीत कम्पनीमा पनि आएछ। त्यही भएर उहाँहरुले मलाई यति धेरै गाउन दिनु भयो कि थाहै नपाई त्यत्रो संख्या पुगिसके छ।
जम्मा कतिवटा एल्वम निकाल्नु भएको छ?
मैंले आसामबाट नेपाली भाषाका एल्वम मात्र दशवटा निकालेकी छु। त्यसबाहेक आसामी,राजस्थानी,बोडो,बंगाली गरी ४० वटा एल्वममा स्वर दिएकी छु।
अहिले आएर नेपाली एल्वम गर्नु भयो,नेपालको पनि अनुभव भयो यहाँ र आसामको सांगीतिक वातावरणमा के भिन्नता महसुस गर्नु भयो? 
जतिसुकै अरु भाषाका गीत गाएपनि मलाई नेपाली गाउँदा जत्तिको आनन्द कहिलै आएन। मिलन मेरो नेपालको पहिलो एल्वम हो त्यो कारणले यसले दिएको आनन्द अवर्णनीय छ। रह्यो अरु वातावरणको कुरा,यहाँ र त्यहाँमा त्यति ठूलो भिन्नता छैन। उतातिर पनि आज भोलि एल्वमको फिजिकल सेल त्यति राम्रो छैन। म्युजिक भिडियो निर्माणको खर्च त यहाँ भन्दा चर्को छ। यहाँ त एउटा म्युजिक भिडियो बनाएर प्रोमो मात्र बजाए हुनेरहेछ तर त्यहाँ त जतिवटा गीत छ त्यतिवटै गीतको म्युजिक भिडियो बनाउनु पर्ने हुन्छ अनि मात्र बल्ल्ा गीत बज्छन्।
तपाईं आसामबाट नेपालसम्म चैं कसरी आईपुग्नु भयो?
म सबैभन्दा पहिले मेटि्रक दिएर मेरो ठूलो ममीको घर धरान आएकी थिएँ। हुन त त्यो भन्दा अघि नै नेपाल र नेपाली संस्कृति मनपर्थ्यो। दोश्रो पटक भने म यही एल्वमको सिलसिलामा नेपाल आएँ। पछि यहीं बिहावारी पनि भयो। अब त म यतैकी भईसकें।
अबको योजना के छ?
पहिलो कुरा त मेरो एल्वम 'मिलन'ले खुब सारा चर्चा कमाओस् भन्ने छ। त्यसका लागि दौडन्छु। त्यसबाहेक चाहिं मलाईं नेपाली चलचित्रको पार्श्व गायनमा योगदान गर्न मन छ। त्यसमा लागि लाग्नेछु। यो सँगसँगै नेपाली सोलो एल्वममा निरन्तरता त छँदैछ।
राम्रो कुरा के लाग्यो भने यहाँ पनि राम्रो गीतलाई सबैले प्रशंसाको नजरले हेर्नुहुँदो रहेछ जुन श्रष्टाका लागि राम्रो कुरा हो।
































