
२०६२ सालमा सम्पन्न भएको नेपाली ताराबाट आफ्नो गायनको औपचारिक यात्रा थालेकी गायिका दुर्गा खरेलले २०६६ सालमा 'दिल' नामको एकल एल्वम निकालेकी थिइन्। सोही एल्वमबाट थुप्रै अवार्डमा डेब्यु आर्टिष्टको मनोनयन पाएकी दुर्गाले इमेज र बिन्दवासिनी अवार्ड समेत पाएकी थिइन्। आफ्नो दोश्रो एल्वमको तयारीमा रहेकी दुर्गासँग सेलरोटी प्रतिनिधिले गरेको कुराकानी।
आजभोलि के गर्दैहुनुहुन्छ?
नयाँ एकल एल्वमको तयारी गर्दैछु। त्यो बाहेक कलेक्सन एल्वम र चलचित्रको पार्श्व गायनमा पनि उत्तिकै सक्रिय छु।
कस्तो एकल एल्वमको तयारी गर्दैहुनुहुन्छ?
सुगम संगीतकै धारमा रहेर एल्वमको तयारी गर्दैछु। हुनत मेरो पहिलो एल्वम दिल मा पनि मैंले लोक फ्लेवर,पप र सुगम सबै खालका गीत समेटेकी थिएँ। तर पनि गायकीका हिसाबले आज भोलि सुन्दा अझै राम्रो गर्न सक्थेंकि भन्ने लाग्छ। तर यो एल्वममा दुर्गाको गायकीले मान्छेलाई अचम्मित तुल्याउँछ।
कहिलेसम्म तयार हुन्छ?
वैशाखसम्ममा गर्ने सोच छ। पाँचवटा गीतको डमी तयार भईसकेको छ। बाँकी को काम सिध्याएर रेकर्डिङ्गमा जाने सोच छ। भिडियो बनाएर प्रमोसनमा लाग्दासम्ममा यति समयसम्म भ्याइएला भन्ने अनुमान छ।
सुगमसँगै पार्श्व गायनमा पनि सक्रिय हुनुहुन्छ ,अहिलेसम्म कतिवटा सिनेमामा गाईसक्नु भयो?
२०वटा जति सिनेमामा गाइ सकेकी छु।
अन्य गीत र पार्श्व गायनमा के फरक हुन्छ?
त्यति धेरै फरक त हुँदैन तर सिनेमामा गीत गाउँदा भिज्युलाइजेशन पनि गर्नुपर्ने हुन्छ जुन अरु गायनमा नगर्दा पनि हुन्छ। फिल्मको गीत गाउँदा चाहिं भिज्युलाइजेशनको कन्सेप्टबाट गाउनु पर्ने हुन्छ र गीतको मुड अनुसारको एक्सप्रेसन दिनु पर्ने हुन्छ।
तपाईंको स्वर राम्रो छ,गीतहरु पनि गाईरहनु भएको छ तर त्यति धेरै चर्चामा हुनुहुन्न नी,किन?
म चर्चाका लागि उटपट्याङ्ग गर्न जान्दिन र त्यस्तोमा रुची पनि छैन। सँगसँगै महत्वपूर्ण कुरा के हो भने गीतको पनि भाग्य हुन्छ भन्छन्। त्यस्तो भाग्य नआएकोले पनि होला तपाईंले भने जस्तो चर्चा नपाएको। तर मलाई चर्चा भन्दा पनि राम्रो काम गर्नमा रुची छ। यस्तैमा म खुशी छु।
गलाका साथ साथ शारीरिक रुपमा पनि सुन्दर पनि हुनुहुन्छ,प्रेम प्रस्ताव कत्तिको आउँछन्?
आउँछन्। अस्ति भ्यालेन्टाइनका दिन पनि टन्नै मेसेज आएका थिए तर अहिलेसम्म डिसेन्ट प्रपोजल आएको छैन।































